मेयरबाट धम्की पाएका रौतहटका पत्रकार रविन्द्र प्रजापति मृत भेटिए !


काठमाडौं । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए ।

त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए । प्रहरीका अनुसार पत्रकार प्रजापति केही दिनयता पारिवारिक तनावमा थिए ।

जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए । एक साताअघि मात्रै पत्रकार प्रजापति र सागर संगम ठाकुरमाथि कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवाल नेतृत्वको समूहले कुटपिट गरको थियो।

त्यतिबेला यो घटनाको नेपाल पत्रकार महासंघलेसमेत विरोध जनाएको थियो। खानेपानीसम्बन्धी समाचार प्रसारण भएपछि सञ्चारकर्मीद्वयलाई बोलाएर घर भित्र थुनेर जयसवालले कुटपिट गरेका पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ।

पारिवारिक समस्या, धम्की र कुटपिटसहितको कारण का कारण तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top