नेपालले फेरि पायो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ।

सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।

सम्मेलनमा सहभागी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले आईसीसी अध्यक्ष जय शाहबाट अवार्ड ग्रहण गरे ।

क्यानले पछिल्लो वर्ष डिजिटल उपस्थितिमा उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यांक आईसीसीले सार्वजनिक गरेको छ। फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स र नयाँ सुरु गरिएको क्यान डोमेस्टिक फेसबुक पेजमार्फत गरिएको रणनीतिक विस्तारले करिब ११७ मिलियन पहुँच पुर्‍याएको छ।

फलोअर्स संख्या करिब ११.७ लाखबाट १५.९ लाखसम्म पुग्दै ४ लाख २० हजारभन्दा बढी नयाँ फलोअर्स थपिएका छन्।

फेसबुकमा भिडियो हेर्ने समय दोब्बर हुँदै १ करोड ३४ लाख मिनेटभन्दा बढी पुगेको छ भने डोमेस्टिक पेजले मात्रै ४४ लाख मिनेटभन्दा बढी वाच टाइम हासिल गरेको छ।

युट्युब वाच टाइम २७७ प्रतिशतले वृद्धि हुँदै २१ लाख ३० हजार घण्टा पुगेको छ। इन्स्टाग्राममा भ्यूज ४ करोडभन्दा बढी पुगेका छन्, जसमा खेलका हाइलाइट्स, खेलाडीका कथाहरू र लाइभ अपडेटहरूले फ्यानलाई आकर्षित गरेका छन्।

नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको यही समर्थन र संलग्नताका आधारमा अवार्ड दिइएको हो । नेपाली क्रिकेटलाई देशभित्र मात्र नभएर देशबाहिर पनि व्यापक समर्थन प्राप्त हुँदै आएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top