नीति कार्यक्रममा स्वास्थ्य क्षेत्र : सङ्घीय अस्पतालहरुको पुर्नसंरचना देखि ‘एक स्वास्थ्य नीति सम्म’ (पूर्णपाठ सहित)


काठमाडौं । सरकारले संघीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनर्संरचना गरि मुख्य अस्पतालहरुमा दुई सिफ्टमा बहिरङ सेवा सञ्चालन गरिने जनाएको छ ।मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।

राष्ट्रपनि पौडेलले भने, ‘वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ सेवा सञ्चालन गरिनेछ ।’ यस्तै, सरकारले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने नीति लिएको उल्लेख गरेको छ ।

‘कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइनेछ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

यसैगरी सरकारले देशभर विभिन्न स्थानमा निर्माणको चरणमा रहेका आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरिने, खरिद प्रक्रिया सम्पन्न हुने चरणमा रहेका अस्पतालको निर्माण सुरु गरिने नीति कार्यक्रममा उल्लेख गरेको छ ।

सरकारले प्रदेश तहमा रहेका सङ्घीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रमश ५ सय शैयामा स्तरोन्नति गरिने तथा मानव अङ्ग प्रत्यारोपण संस्था र सेवाको स्तरोन्नति गरी विस्तार गरिने समेत उलेख गरेको छ ।

सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको सरकारले  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम र दसदेखि चौध वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने लक्ष्य राखेको छ ।

यस्तै,परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिका अवस्था पहिचान गर्न भ्रुण तथा नवजात शिशु परीक्षण सेवा सुरु गरिने नीति कार्यक्रममा राखेको छ ।

सबै अस्पतालहरूमा जेरियाट्रिक वार्डको प्रबन्ध मिलाई ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा स्वास्थ्यसेवा प्राप्त गर्नसक्ने व्यवस्था मिलाइने पनि सरकारको नीति कार्यक्रममा समावेश छ । प्रत्येक प्रदेशका कम्तीमा एक सङ्घीय अस्पताल र कम्तीमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिने उल्लेख गरेको सरकारले संघीय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवाप्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने जनाएको छ ।

 एकै किसिमको परीक्षण पटक पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाइने समेत नीति कार्यक्रममा उल्लेख छ ।

महामारी रोकथाम र नियन्त्रण तथा स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी र प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणाली सुदृढ गरिने, सीमा नाका तथा प्रवेश बिन्दुमा स्वास्थ्य जनशक्तिको व्यवस्था गरिने, नसर्ने रोग रोकथाम गर्न छुट्टै संस्थागत व्यवस्था गरिने, पशुपन्छी, वनस्पति र वातावरणबाट मानव स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असर न्यून गर्न “एक स्वास्थ्य नीति”मा आधारित कार्ययोजना कार्यान्वयन गरिने जस्ता कार्यक्रम सरकारले स्वास्थ्य सेवा प्रवाह र विस्तारको क्षेत्रलाई मध्यनजर गर्दै योजनामा राखेको छ ।

पूर्णपाठ:

पूर्णपाठ Policy&Program 2081-082


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top