संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची


काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसदमा पेश हुँदैछ । संघीय संसदका दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संघीय संसदमा राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । हरेक वर्ष जेठ १५ मा सरकारले बजेट ल्याउनुअघि संघीय संसदका दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । जसअनुसार मंगलबार संघीय संसद्लाई राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन् ।

सचिवालयकाअनुसार संघीय संसदका सबै सदस्यहरूलाई दिउँसो २ः४५ बजेभित्र औपचारिक पोशाकमा उपस्थिति भइ आफ्नो आशण ग्रहण गरिसक्न सूचित गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट सम्बोधन हुने संयुक्त बैठकलाई व्यवस्थित गर्न सोमबार सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

त्यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित संघीय संसदमा रहेका दलका नेताहरूसँग बैठक सञ्चालनका विषयमा परामर्श गरेका थिए ।

राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा विभिन्न कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गर्ने अभ्यास रहेको छ । संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ । त्यसकालागि प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ५ : ३० बजेका लागि बोलाइएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top