प्रिन्स र प्रफुल उपाधिका लागि पुनः भिड्ने


काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुनः एक पटक ली–निङ्ग १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याकिङ्ग ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधिका लागि भिड्ने भएका छन् । पुष्पलाल स्मृतिको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेस्रो प्रधानमन्त्री कपमा प्रफुलसँग पराजित भएका थिए ।

त्यसपछि ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोस्रो मेयर कप र स्पोर्टस् हबद्वारा आयोजना गरिएको प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधि जितेका थिए ।

आज भएको शीर्ष ८ पुरुष एकल क्वाटर फाइनल खेलमा प्रिन्सले एपिएफकै देवराज रानालाई २१–७, २–१२ ले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरेका हुन् । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१४, २१–१३ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् ।

नेकपा एमालेको भ्रातृसंस्था नेपाल खेलकुद महासङ्घ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन सङ्घ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई पराजित गर्दै फाइनल प्रवेश गरिन् ।

फाइनल प्रवेश गर्ने क्रममा रसिलाले निला माथि २१–१६, २१–१६ को समान अन्तरको जित निकालेकी हुन् । अव रसिलाले उपाधिका लागि भोजपुरकी नङ्गशल तामाङ सँग प्रतिस्पर्धा गर्ने छिन् । नङ्गशलले ११ औँ र १२ औँ संस्करणकी विजेता आर्मीकी अनुमाया राईलाई २१–१४, २४–२२ को जित निकाल्दै फाइनलमा रसिला सँगको भेट पक्का गरेकी हुन् ।

यसैगरी मास्टर्स ४५ बर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका शुक्र पाख्रिन र भीम बहादुर थापाको जोडी तथा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधिका लागि भिड्ने भएका छन् । शुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ र प्रकाश राईको जोडीलाई १०–२१, २१–१६, २१–१८ ले तथा सञ्जय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङको जोडीलाई २२–२०, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

मास्टर्स ५५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेस सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीले फिटनेस पार्कका पूर्ण जोशी र उमेश के।सी।को जोडीलाई २१–१९, २६–२४ ले पराजित गर्दै उपाधिका लागि गुल्मीका राम गुरुङ र खगेन्द्र रेग्मीको जोडी सँगको भेट पक्का गरेका छन् । गुरुङ र राईको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडीलाई २०–२२, २१–१८, २१–७ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।

ब्याडमिन्टन सङ्घले प्रिन्सलाई सम्मान गर्ने

राष्ट्रिय ब्याडमिन्टन सङ्घले आफ्नो पूर्व घोषणा अनुरूप नेपालका नम्बर एक खेलाडी एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ । १३ औँ पुष्पलाल स्मृति ¥याकिङ्क राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन भोलि शनिबार प्रिन्सलाई मोटरसाइकल उपहार दिएर सम्मान गर्न लागिएको हो ।

सङ्घको पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको विजेतालाई मोटरसाइकले सम्मान गर्ने घोषणा अनुरूप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२ औँ संस्करणका विजेता हुन् ।

यस अघि यो सम्मान बाट रत्नजित तामाङ र नङ्गशलदेबी तामाङ सम्मानित भइसकेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top