काठमाडौं । रेड्मी नोट १३ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै साओमीले आफ्नो नयाँ फोन भित्र्याएको हो । नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभजी, नोट १३ प्रो र नोट १३ गरी तीन मोडेल बजारमा आएका छन् । कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो प्लस फाइभजी दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । जसमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ रहेको छ । नेपाली बजारमा यो मोडेलको फोन विभिन्न तीन कलरमा ९मुनलाइट ब्ल्याक, मुनलाइट ह्वाइट र अरोरा पर्पलमा पाउन सकिन्छ ।
कम्पनीले यो मोडेलमा पहिलो पटक कर्भ्ड डिस्प्ले र इन(डिस्प्ले समावेश गरेको छ । रेड्मी नोट १३ सिरिजका सबै मोडेलमा इन डिस्प्ले फिङ्गर प्रिन्टको सुविधा पाउन सकिन्छ । यो मोडेल मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेटबाट सञ्चालित छ भने एन्ड्रोइड १३ तथा मि यूआई १४ मा आधारित छ ।
यो मोडेलमा २०० मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर राखिएको छ । सेल्फी पारखीका लागि भने यसमा १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसलाई चार्ज गर्न १२० वाट क्षमताको चार्जर दिने कम्पनीले जनाएको छ । यो चार्जरले १९ मिनेटमा फोन फुल चार्ज हुने दाबी गरेको छ ।
त्यस्तै रेड्मी नोट १३ प्रोका पनि दुई ओटा भेरियन्ट उपलब्ध छन् । त्यसमा ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ राखिएको छ भने १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

यसमा पनि २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो लेन्स राखिएको छ । अगाडि भागमा भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । यसमा ५१०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसलाई चार्ज गर्न कम्पनीले ६७ वाटको फास्ट चार्जर उपलब्ध गराएको छ । यसले १७ मिनेटमा ५० प्रतिशत तथा ४४ मिनेटमा १०० प्रतिशत चार्ज गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी रेड्मी नोट १३ पनि दुई ओटा भेरियन्टमा आएको छ । कम्पनीले ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टलाई २४ हजार ९९९ रुपैयाँमा र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टलाई २७ हजार ९९९ रुपैयाँमा बिक्री गर्दैछ ।
यसमा भने १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको डेफ्थ सेन्सर राखिएको छ । अन्य मोडेल जस्तै यसमा पनि १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । ५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन चार्ज गर्न ३३ वाटको वायर्ड चार्जर साथमा पाउन सकिने छ ।






