काठमाडौं । प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहालले हात जितेका छन् । शनिबार नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाईनल खेलमा नेपाल आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि उचालेका हुन् । नेपाल प्रहरीका जिवन आचार्य र एपीएफका अमन महर्जनले तेस्रो स्थान हात पारे ।
यसैगरी, महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१–१०,२१–८ को सोझो सेटमा पराजित गर्दै जितेकी छिन् । यस्तै, पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडी प्रथम भयो । सो जोडीले एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गरेको थियो ।
एपीएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भएको थियो ।






