काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जनता बेचिँदा सांसदको मौनता लज्जास्पद रहेको बताएकी छिन् । आइतबार संसद्को दृश्यबारे सामाजिक सञ्जालमा लेख्दै उनले भिजिट भिसा प्रकरणको प्रसंग उठाउँदै राज्यकै संरक्षणमा जनता बेचिनु लज्जास्पद भएको बताएकी हुन् ।
‘यदि राज्यको संरक्षणमै जनता बेचिन्छन् भने जनप्रतिनिधिको मौनता लज्जास्पद मात्र होइन, दायित्वबोधबाट उम्किएको स्पष्ट प्रमाण हो,’ सांसद गौतमले भनिन् ।
उनले संसद् जनताको पक्षमा चल्न नसकेको पनि बताएकी छिन् ।‘प्रतिरोध चलिरहँदा पनि संसद चल्यो, तर त्यो संसद जनताको पक्षमा चलेन,’ सांसद गौतमले भनेकी छिन् । संसद जनताको न्याय र पक्षमा चल्नुपर्ने बताइन् ।
‘यदि यस्तो गम्भीर विषयमा सबै दल मिलेर फासफुसे समिति बनाएर उम्किन खोज्छन् भने रास्वपा प्रतिरोधमा उभिन्छ,’ सांसद गौतमले भनेकी छिन्, ‘गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको स्पष्ट संरचना सुनिश्चित नभएसम्म हाम्रो प्रतिरोध यथावत रहनेछ ।’







