काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभई सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए ।
‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन, सरकारसँग पनि रिलेटेड छ,’ प्रचण्डले भने, ‘कम्तीमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’
प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

त्यस्तै संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।
सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।
मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएकाले र उनले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले उनको राजीनामा माग गरे ।
“गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,” सांसद पुनले भने ।







