काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसदका दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन बोलाइएको सरकारको भनाइ छ ।






