काठमाडौं । नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ । अधिकारीहरूले उक्त भूकम्पको केन्द्रविन्दु चीनमा रहेको बताएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले भनिन्, “यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ ।”
बिहान ६:५० बजेतिर उक्त भूकम्पको झट्का महसुस गरिएको थियो । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले नेपालका उत्तरी जिल्लाहरूबाट क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । उनले भने, “हामीले प्राय: सबैजसो उत्तरी जिल्लाहरूबाट प्रारम्भिक विवरण लिइसकेका छौँ। हालसम्म ठूलो क्षतिको विवरण आएको छैन। प्रभावित हुन सक्ने क्षेत्रहरूमा हामी थप बुझ्दै छौँ ।”
कुन कुन जिल्ला प्रभाव पर्यो ?
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्य रूपमा नेपालका सात जिल्लाहरूमा भूकम्पको प्रभाव परेको हुन सक्ने ठानिएको जनाएको छ । केन्द्रले सामाजिक सञ्जालहरूमा लेखेको छ,”नेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ ।

“यसले नेपालका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर पारेको हुन सक्छ । जिल्ला प्रशासन कार्यालयहरूबाट सूचना सङ्कलन भइरहेको छ ।”
केन्द्रले आफ्नो क्षेत्रमा भएको क्षति र भूकम्पको असरबारे जानकारी दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।






