उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको ‘सरप्राइज’ : २५ वर्ष मै सांसद र उपसभामुख रुबी !


काठमाडौं । नयाँ प्रतिनिधिसभा बनेपछि रास्वपा नेतृत्वको सरकारलाई सदन र बाहिरबाट छिनछिनमा खबरदारी गर्ने व्यक्ति हुन् हर्क साम्पाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङ छिनछिनमा समाजिक सञ्जालमा प्रकट भएर सरकार र रास्वपाका कार्यशैलीमाथि प्रश्न गर्छन् । विपक्षी बेन्चमा बसेर सरकारलाई खबरदारी गर्ने साम्पाङ नेतृत्वको पार्टीलाई रास्वपाले भने उपसभामुख समर्थन गर्ने निर्णय गरेको छ ।

संसदमा पहिलोटक नयाँ शक्तिको रुपमा प्रवेश गरेको श्रम संस्कृतिलाई प्रतिनिधिसभाको उपसभामुख जस्तो विशिष्ट पद मिलेको हो ।

सात जना सांसद रहेको यो पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर उपसभामुख बन्ने करिब निश्चित छ । किनकी रास्वपाको समर्थन पाउने बित्तिकै उनको पक्षमा संसद्को दुई तिहाई भन्दा बढीको समर्थन हुन्छ ।

नयाँ चुनावपछि परिवर्तनकारी शक्तिहरूबीच मिलेर जान श्रमसंस्कृतिलाई समर्थन गरेरको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाबाट प्रतिनिधिसभाको सभामुख भएकाले संवैधानिक प्रावधान अनुसार  अर्को दल र लिंगको व्यक्तिलाई उपसभामुख  बन्नुपर्छ । त्यही आधारमा रास्वपाले श्रम संस्कृति कि राप्रपा कसलाई समर्थन गर्ने भन्ने दोहोरो छलफल चलिरहेको थियो ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले केही दिन अघि रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए । त्यसक्रममा उपसभामुखका एकअर्कालाई समर्थन गर्नेबारे कुराकानी भएको थियो । बिहीबार पनि रास्वपा सभापति लामिछानेसँग कुरा भएको र त्यसक्रममा राप्रपालाई समर्थन गर्ने आवश्वासन पाएको शाहीले ज्ञानेन्द्रबहादुर शाहीले अनलाइनखबरलाई बताएका थिए । रविसँग कुरा गरेपछि राप्रपाका नेताहरू  सरस्वती लामालाई उपसभामुख बनाउने निर्णय गर्नका लागि बैठकमा गए ।

यता श्रम संस्कृति पार्टीसँग पनि रास्वपाको कुराकानी चलिरहेको थियो । रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग हर्क साम्पाङको कुरा हुने गरेको थियो । राप्रपा उता बैठक गरिरहेको बेला  कविन्द्र बुर्लाकोटीसहितका रास्वपा नेताहरू श्रम संस्कृति पार्टीसँग छलफलमा थिए । उक्त छलफलमा श्रम संस्कृतिलाई सहयोग गर्ने निर्णय रास्वपा नेताहरूले सुनाए ।

राप्रपा नेताहरू सरस्वती लामाको नाम लिएर उम्मेदवारी दर्ता गर्न आउँदा श्रम संस्कृतिकी रबिकुमारी ठाकुर लगायतका सांसद फारम लिएर बसिरहेका थिए । राप्रपाले शुरूमा आफ्नै सांसदहरू प्रस्तावक र समर्थक राखेर सरस्वती लामाको नाम दर्ता गरायो । त्यसपछि  छलफलमा रहेका रास्वपाका कविन्द्र बुर्लाकोटी र श्रमसंस्कृतिका आरेन राई लगायतका नेताहरू उम्मेदवारी दर्तास्थलमा आए रुबीको उम्मेदवारी दोस्रो नम्बरमा दर्ता भयो ।

रास्वपाको आवश्वासनपछि उम्मेदवारी दर्ता गरेको दाबी गर्ने राप्रपा संसदीय दलका नेता शाहीले किन समर्थन गर्ने आश्वासन दिएको ? भन्दै रवि लामिछानेलाई नै प्रश्न गरेका छन् । उम्मेदवारी दर्तापछि शाहीले संसद् सचिवालयमा पत्रकारहरूसँग भने,’उहाँहरूले बोलेको इमान कति पुरा गर्नुहुन्छ हामी हेर्छौं ।

शाही यसो भने पनि अब रास्वपा औपचारिक समर्थन रूबीलाई भएकाले उनी नै उपसभामुख बन्ने निश्चित जस्तै छ । किनकी रास्वपा र श्रमसंस्कृति मिल्दा प्रतिनिधि सभामा १८९ सिट हुन्छ । यो प्रतिनिधिसभाको दुई तिहाइ  बढीको  समर्थन हो ।

१० मिनेट अघिको त्यो निर्णय

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङसँग बुधबार बेलुकी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले संवाद गरेका थिए । बिहीबार बिहान रास्वपाका सभापति लामिछानेले राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेका थिए ।

सभापति लामिछाने र महामन्त्री बुर्लाकोटीले साम्पाङ र ज्ञानेन्द्र शाहीलाई दिएको सन्देश समान थियो– उम्मेदवारी दिनुहोस् । उपसभामुखमा आदिवासी जनजाति कलस्टर होस् भन्ने हाम्रो चाहना छ । यस्तो सन्देश नेकपाले पाएन । त्यसपछि उपसभामुखमा दाबी गरेको नेकपा उम्मेदवारी नदिने निर्णयमा पुग्यो । रास्प्रपा र रास्वपा उम्मेदवार चयनमा लागे ।

राप्रपाले सुरुमा खुस्बु ओलीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । रास्वपाका सभापति लामिछानेले नै आदिवासी जनजाति कलस्टरबाट उम्मेदवार होस् भनेपछि खुस्बुलाई मनाएर सरस्वतीलाई उम्मेदवार बनायो ।

यता, श्रम संस्कृति पार्टीले पनि सुरुमा अम्बिकादेवी संग्रौलालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । रास्वपाले जनजाति क्लस्टरबाट उम्मेदवार होस् भनेर सन्देश दिएपछि छलफलमा जुटे र ठाकुरलाई उम्मेदवार बनाउने निर्णय लिए ।

राप्रपा र रास्वपा दुवै रास्वपाले मतदानमै सहयोग गर्ने बुझाइमा थिए । यसअनुसार दुवैले तयारी गरे । तर, उम्मेदवारी दर्ता चलिरहँदा राप्रपा र श्रम संस्कृति दुवैले ‘सरप्राइज्ड’ पाए । राप्रपाको उम्मेदवारी दर्ता प्रक्रिया चल्दै थियो । श्रम संस्कृति पार्टीकी ठाकुर पालो कुरिरहेकी थिइन् ।

राप्रपाका नेताहरू उम्मेदवारी दर्तापछिको फोटो लिइरहेका थिए । त्यही बेला श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र रास्वपाका महामन्त्री बुर्लाकोटी एकसाथ छिरे । बुर्लाकोटीले ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसपछि ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, समर्थकमा रास्वपाका अशोक चौधरी र श्रम संस्कृति पार्टीका अम्बिकादेवी संग्रौला बसे । रास्वपाका महामन्त्री बुर्लाकोटी आफूहरू अन्तिम समयमै निर्णयमा पुगेको स्वीकार गर्छन । बरु नेकपा र राप्रपाले समेत उपसभामुखमा चाहना राखेको उनले सुनाए ।

‘क्रस भेटघाटमा नेकपाको प्रस्ताव पनि थियो । हामीले उहाँहरूलाई हुन्छ भनेनौं, हुँदैन भनेनौं । यो (श्रम संस्कृतिलाई समर्थन गर्ने निर्णय) पनि ठ्याक्कै १० मिनेट अगाडि टुंग्याएको हो’, बुर्लाकोटी भन्छन्, ‘हामी पर्ख र हेरको अवस्थामै थियौं । कसले उम्मेदवारी दिनुहुन्छ भन्नेमै थियौं । पहिले बचन कसैलाई दिएका थिएनौं ।’

बुर्लाकोटीले भने जस्तै उनीहरू उम्मेदवारी दर्ताको कार्यालय प्रवेश गर्दा दुई बज्न केही मिनेट मात्रै थियो । ‘समय सकिन लागिसक्यो भन्दा संसद सचिवालयका कर्मचारी र अन्यले समेत ढोकाभित्र छिरिसकेपछि फारम बुझाउने समय पाइन्छ भनेर सम्झाएका थिए ।’

अन्तिम समयमा निर्णय लिए पनि आफूहरूले जनभावनालाई सम्बोधन गरेको महामन्त्री बुर्लाकोटीको भनाइ छ ।

उनी भन्छन्, ‘उदाउँदा पार्टी एक ठाउँमा उभिएर जानुपर्छ भन्ने जनअपेक्षा छ, यसलाई ख्याल गर्‍यौं । पाका सभामुख हुनुहुन्छ, उपसभामुखमा जेनजी उमेरको आउनु हुने भएको छ । संवैधानिक परिषद् पनि समावेशी देखिनेछ ।’

एक्लियो राप्रपा

प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । उपसभामुखको चुनावमा एकातिर पाँच दल र अर्कोतिर राप्रपा एक्लै भएको छ ।

उपसभामुखमा नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र श्रम संस्कृति पार्टीले दाबी गरेको थिए र रास्वपाको समर्थन चाहेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेले दाबी नै गरेनन् वा रास्वपालाई ‘सघाउनुहो्स् उपसभामुखमा उम्मेदवारी दिन्छौं’ भनेनन् ।

रास्वपाबाट उम्मेदवारी दर्ताका लागि कुनै सन्देश प्राप्त नभएपछि नेकपासहितका विपक्षी दलहरू संवादमा जुटे । कांग्रेसबाट मोहन आचार्य, एमालेबाट गुरुप्रसाद बराल र नेकपाबाट वर्षमान पुन संवादमा थिए । तीन दलको संवादमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई पनि सहभागी भएका थिए ।

तर, यी चार दलले राप्रपासँग संवाद गरेका थिएनन् । यही बेला रास्वपाले राप्रपालाई समर्थन गर्ने सन्देश प्रवाह भएपछि प्रतिपक्षमा रहेका राप्रपा बाहेकका दलले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिए ।

राप्रपा पनि रास्वपाको समर्थन पाउने आशमा अन्य दलसँग संवादमा गएको थिएन । रास्वपाको समर्थन लिन राप्रपा संसदीय दलका नेता शाही आफैँ लागेका थिए ।

यही चैत २१ गते रास्वापाका सभापति लामिछानेलाई उनकै निवासमा गएर भेटेका थिए । बिहान उनै सभापति लामिछानेले फोन गरेपछि शाही उत्साही भए । तर, रास्वपाले अन्तिममा श्रम संस्कृतिका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएपछि राप्रपा एक्लै भएको हो ।

राप्रपाका संसदीय दलका नेता शाही जस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ पनि रास्वपामा शीर्ष नेतासँग संवादमै थिए । यही चैत २२ मा साम्पाङ प्रधानमन्त्री बालेनलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

अन्तिममा उपसभामुखमा समर्थन लिने प्रतिस्प्रर्धामा श्रम संस्कृतिले बाजी मारेको हो ।

रास्वपाको समर्थनसँगै ठाकुर उपसभामुख बन्ने निश्चित छ । किनभने, २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । कांग्रेस ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राप्रपा का ५ सांसद् छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top