राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन !


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो।

राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिएको नियुक्तिपत्रमा ‘६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने गरी’ भन्ने व्यहोरा उल्लेख छ।

‘मुलुकमा उत्पन्न विषम एवं असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा एवं आकांक्षाअनुसार राजनीतिक दल एवं सरोकारवालाहरूसँगको परामर्श समेतका आधारमा’ राष्ट्रपतिको नियुक्तिपत्रमा भनिएको छ, ‘राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिका आधारमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको….।’

शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव आनन्द काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाएका थिए । व्यवहोराअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको उल्लेख छ।

नियुक्ति पत्रको व्यहोरामा राष्ट्रपतिमा अन्तरनिहीत अधिकारको प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको व्यहोरा उल्लेख छ, जुन व्यहोरा संविधानको धारा ६१ मा छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top