रास्वपालाई विश्वप्रकाशको सुझाव- खारिन बाँकी छ, तीन ‘अ’ बाट मुक्त हुनुस्


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री शर्माले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गरे । महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेको पालामा गएको उनले उल्लेख गरे ।

‘आवेगमा आएर विषयवस्तुलाई नहेरौं । रास्वपालाई मेरो सुझाव छ- नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईंहरू तीन वटा ‘अ’ अर्थात् अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुस् ।’

उहाँले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत उनले कोट्याए ।

‘तपाईंहरूकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरू गएका छन् । तपाईंहरूले संसद् बहिष्कार गर्दै गर्दा रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईंहरूको निष्कर्ष हो ? म सोध्न चाहन्छु,’ शर्माले भनेका छन् ।

गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउने नेताहरू उपसभामुखको नैतिकतामा प्रश्न उठाउनुपर्दैन ? भन्ने उनको प्रश्न थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top