काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ ।
अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ । चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ ।
यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।






