कुलिङ पिरियड चाहिन्छ, अत्याचार भए सरकारबारे सोच्नुपर्छ : गिरी


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत रुपमा आएको निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पनि पारित हुनुपर्ने बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताए ।

सो विषयमा सरकारले अति गरेको खण्डमा कांग्रेसले सरकारको बारेमा पनि सोच्नसक्ने चेतावनी दिए ।

‘यो भन्दा अति केही पनि हुँदैन, गभर्मेन्टको असक्षमता हो । सरकारलाई वा प्रधानमन्त्रीजीलाई केही सुधार गर्नुपर्ने थियो भने समितिमा हुँदै गर्नुपर्दथ्यो । एकमत भएर आवाज आइसकेपछि सदनमा गइसकेपछि सदनको कार्यपुस्तिकामा आइसकेपछि यो नयाँ कुरा आयो । यो भन्दा अति केही पनि हुँदैन । यसले न सरकारलाई फाइदा गर्छ, सरकार आफैँ कमजोर हुँदैछ । यो भन्दा अति केही पनि हुँदैन,’ उनले भने ।

सांसद गिरीले कतिपय कुरा लोकतान्त्रिक पार्टीले सहनुपर्छ भनेर मात्रै सहेको बताउँदै अब धेरै सहन नसक्ने जिकिर गरे ।

‘दुई वर्षको कुलिङ राख्नुपर्छ । छिटो भन्दा छिटो सदनमा विधेयक प्रश्तुत गरेर यो पास हुनुपर्छ । सरकारले ज्यादती गर्छ भने सरकार हुँदा पनि हामी औंला ठड्याउँछौँ । बजेट पनि बढो नाटकीय ढंगको छ । दाङको एयरपोर्ट जनतालाई खाँचो छ । सरकारको अत्याचार बढ्दै गयो भने सरकारको बारेमा पनि सोच्न बाध्य हुन्छौँ । नेतृत्वलाई घच्घच्याउँछौँ,’ सांसद गिरीले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top