काठमाडौं । राजावादीहरूको राजधानी केन्द्रित आन्दोलन आज पनि जारी छ । गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजीवादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
राजावादीहरूले आज माइतीघर मण्डला र बबरमहल क्षेत्र केन्द्रित आन्दोलन गरिरहेका छन् । १५ जेठमा काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित निस्किएको राजावादीहरूको प्रदर्शन शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राप्रपा नेपाल लगायत दल तथा समूहहरू पनि आन्दोलनमा सहभागी छन् ।
शुक्रबारको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेताहरू पनि छाता ओढेर सहभागी भएका छन्। केही दिनअघि राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले छाता क्रान्तिबाट राजतन्त्र पुनर्स्थापना गर्ने बताएका थिए ।

राजावादीहरूले १५ जेठबाट आन्दोलन गर्ने घोषणा गरेपछि सञ्चारकर्मीले थापालाई वर्षा लागिसकेपछि जनसहभागिता कसरी होला भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा थापाले राजसंस्था फर्काउने अहिलेसम्मकै अनुकूल समय आएको भन्दै छाता ओढेरै आन्दोलन गर्ने र छाता क्रान्ति सफल हुने दाबी गरेका थिए ।









