एमाले प्रदर्शनलाई खिसीट्यूरी गर्दै लिङदेनले भने- आज जनमत संग्रह भयो


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आज जनमत संग्रह सम्पन्न भएको बताएका छन् । राजतन्त्र र हिन्दूराज्य पुनर्स्थापनाको मागसहित सुरु भएको आन्दोलनको पहिलो दिन नै एउटा जनमत संग्रह भएको उनले बताएका हुन् ।

अध्यक्ष लिङ्देनले गणतन्त्रको पक्षमा नेकपा एमालेले आजै भृकुटीमण्डपमा निकालेको प्रदर्शनसँग आफ्नो प्रदर्शनलाई तुलना गर्दै जनमत संग्रहको उदाहरण दिएका हुन् ।

‘राप्रपा लगायतका शक्तिहरू एक ठाउँ उभिएर गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्ने भनेर घोषणा गरेपछि उहाँले (प्रधानमन्त्री केपी शर्मा ओली) पनि गणतन्त्र पक्षधरहरू पनि सडकमा आऊ भन्नुभयो,’ लिङदेनले एमाले जनप्रदर्शनप्रति खिसीट्युरी गर्दै भने, ‘देशभरबाट जसरी कार्यकर्तालाई आह्वान गर्‍यौं (हामीले), उहाँहरूले आह्वान गर्नुभयो । राज्य शक्ति प्रयोग गरेर ल्याएको गणतन्त्र पक्षधरको अघिको प्रदर्शन देखिहालियो नि हैन त ?’

लिङ्देनले आन्दोलनको पहिलो दिनकै उपस्थितिले जनता राजतन्त्रको पक्षमा रहेको पुष्टि भएको बताए । ‘आज एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता राजतन्त्रको पक्षमा छन्, यो प्रमाणित भएको छ,’ उनले भने ।

गणतन्त्र नढालेसम्म आन्दोलन नरोकिने बताएका लिङ्देनले आजको प्रदर्शनलाई कास्टिङको संज्ञा दिए । देशका अन्य भूभागबाट आएकाहरू लामै समय बस्नेगरी आएको जानकारी दिँदै लिङ्देनले राजधानीबासीसँग पनि सहयोग मागे ।

‘यो आन्दोलन कुनै पार्टीको मात्र होइन, यो आन्दोलन नेपालका लागि नेपाली जनताले गरेको पहिलो आन्दोलन हो,’ उनले भने । अरु दिन पनि बोल्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले छोटो सम्बोधन गरेका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top