शिक्षक आन्दोलनमा गम्भीर घाइते पत्रकार, महासङ्घको ध्यानाकर्षण, कार्की भन्छिन् दाहिने आँखा हेर्नै मिल्दैन !


काठमाडौं । आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।

लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए । प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् । प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रशारण निर्देशक राजु भण्डारीले जानकारी दिए ।

‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ उनले भने । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो । प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ ।

तर शिक्षक महासंघका नेताहरुले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।

घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन

शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुगेकी थिइन्, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की । उनलाई शिक्षकहरूले अगाडि नै भनेका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’

सोही अनुसार उनी १२ बजे बानेश्वर पुगिन् । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए ।

‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भनेकी छिन्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’ सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् । ‘एक्कासी मलाई लाग्यो । दाहिने आँखा हेर्नै मिल्दैन,’ उनले भनिन् ।

पत्रकार महासङ्घको ध्यानाकर्षण

प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको जनाए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top