कुलमान घिसिङलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त !


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को आजको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए ।

चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो । तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन् । उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ ।

यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top