भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ, लोडसेडिङ हुँदैन : परराष्ट्रमन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्। भारत भ्रमण सकाएर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताइन्।

नेपालमा राजावादी सक्रिय भइरहेका बेला मन्त्री राणाले भारतीय पक्षको सन्देश नेपालमा लोकतन्त्र नै रहेको स्पष्ट पारेकी हुन्। ‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। अहिले सरकारसँग भारतीय पक्ष (भारतीय निकायहरू) जोडिरहनुभएको छ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ,’ मन्त्री राणाले भनिन्।

उनले राइसिना डायलग कार्यक्रममा नेपालको पक्षमा वकालत गरेको र विभिन्न साइडलाइन वार्ताहरू पनि गरेको बताइन्। उनले विपिन जोशीको रिहाइका लागि अमेरिकादेखि युरोप र एसियाका विभिन्न देशका सरकारका प्रतिनिधिहरूसँग छलफल गरेको बताइन्। अमेरिकाबाट आउने आर्थिक सहायताका विषयमा पनि त्यहाँका प्रतिनिधिसँग आग्रह गरिएको उनको भनाइ छ।

नेपालमा लोडसेडिङ हुन नदिन भारतसँग कूटनीतिक पहल गरेँ : 

परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा लोडसेडिङ हुन नदिन भारतसँग कूटनीतिक पहल गरेको बताएकी छन्। ‘नेपालमा विद्युत् समस्या समाधान गर्न भारतीय पक्षसँग कूटनीतिक पहल गरेको छु। विद्युत् आपूर्तिसम्बन्धी प्रस्ताव फेब्रुअरीमै पठाउनुपर्ने थियो। तर, के कारणले विद्युत् प्राधिकरणले पठाएन। नेपालमा आपूर्ति हुने विद्युत्को परिणाम बढाउन भारतीय पक्षसँग अपील गरेको छु,’ उनले भनिन्। उनले विद्युत् समस्या समाधान हुने दाबी गरिन्।

त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता भएको र नेपाल र भारतबीचको आपसी हितका विषयमा छलफल भएको उनले बताइन्। छलफलमा नेपालमा र भारतबीच बनेका संयन्त्रहरूको समीक्षा र क्रियाशील बनाउने विषयमा दुवैतर्फबाट जोड दिइएको उनको भनाइ छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top