कुलमानको जवाफ पर्खिरहेको छु : ऊर्जामन्त्री खड्का (भिडियो पनि हेर्नुस)


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जवाफ कुरिरहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि २१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोध्ने अख्तियारी ऊर्जामन्त्री खड्कालाई दिएको थियो । सोही अनुसार उनले हिजो (बिहीबार) कुलमानलाई स्पष्टीकरण पठाएका छन् ।

शुक्रबार सञ्चारकर्मीले संसद् भवन परिसरमा खड्कालाई सञ्चारकर्मीले ‘कुलमान हटाउन सरकारले अन्तिम तयारी गरिरहेको छ भनिन्छ नि ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘हट्नुहुन्छ कि हुँदैन छलफलको विषय नै छ ।’

लगत्तै अर्का एक सञ्चारकर्मीले सोधे, ‘हटाउँदै हुनुहुन्छ कि नाइँ ?’

जवाफमा ऊर्जामन्त्री खड्काले कुलमानको जवाफ कुरिरहेको बताए ।

‘उहाँको उत्तर आएपछि भनौंला नि, उहाँको जवाफ कुरिरहेका छौं,’ खड्काले भने ।

सोही प्रसंगमा खड्कालाई ‘कुलमानलाई श्रेय नदिँदा भारतलाई श्रेय दिनुभयो नि ?,’ भन्दै अर्को प्रश्न तेर्सियो ।

‘हामी भारतबाटै विद्युत् आयात गरिरहेका छौं । आजै पनि एक हजार मेगावट भन्दा बढी भारतबाटै आयात गरेका छौं,’ जवाफमा खडकाले भनेका छन्, ‘उहाँहरू (भारत) को आवश्यकता हुँदाहुँदै नेपालको सहयोगका लागि दिएको भन्नुपर्छ नि ।’

लगत्तै अर्को प्रश्न आयो, ‘हात धोएरै पछि लाग्नुभएको छ भन्ने पनि छ ?’

खड्काले जवाफ दिए, ‘त्यो चाहीँ थाहा भएन ।’ ‘कर्मचारीहरू अनुशासित र मर्यादीत हुनुपर्छ।’  उनले उक्त विषय मन्त्रालय र सरकारको भएकाले आफूलाई व्यक्तिगत रुपमा नजोड्न आग्रह गरे ।

भिडियो पनि हेर्नुस:


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top