मौसम : आजबाट भित्रँदैछ अर्को पानी पार्ने प्रणाली, काठमाडौंमा वर्षा होला?


काठमाडौं । बिहीबारदेखि पश्चिम नेपालबाट वर्षा गराउने अर्को प्रणाली भित्रन लागेको मौसमविद्ले जानकारी दिएका छन्। यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली भित्रिए पनि सरदरभन्दा कम वर्षा भएको छ।

बिहीबारदेखि भित्रने प्रणाली शुक्रबार बागमतीहुँदै कोशी प्रदेशसम्म पुग्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। उनकाअनुसार यो प्रणालीले पहाडी र हिमाली भेगमा उल्लेखनीय वर्षा गराउने छ। काठमाडौं उपत्यका र तराईमा भने पानी पर्ने सम्भावना घट्दै गएको पनि उनले बताए।

यसपालि पश्चिम नेपालमा छिटपुटदेखि हल्का वर्षा भए पनि काठमाडौं उपत्यकामा भएको छैन।मौसम विभागकाअनुसार  १६देखि फागुन १३ सम्म १०.६० मिलिमिटर मात्रै वर्षा भएको छ। जबकि यो अवधिमा सरदर ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने विभागले जनाएको छ।

विभागले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकि भागमा मौसम मुख्यतया सफा रहेको छ। तराइका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र  देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र  देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top