नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।
विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले बताए ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।
यस दिनलाई मगर दिवस पनि भनिन्छ । विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो ।
यहाँका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मगर समुदायको जनसङ्ख्या एक लाख तीन हजार ९४९ रहेको छ । यो जिल्लाको कुल जनसङ्ख्याको २७ दशमलव ४९ प्रतिशत हो ।






