नेपालको उपाधि जित्ने सपना अधुरै, म्यानमारसँग २-० गोलको हार बेहोर्दा उपविजेतामै सीमित !


काठमाडौं ।  अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो।

यससँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ वटा फाइनलमा हार बेहोर्ने नमिठो यथार्थ आत्मसात गर्नपर्‍यो। नेपालले सन् २०१० यता छ वटा महिला साफ च्याम्पियनसिप, तीन वटा साग गेम्स, एक वाफ विमेन्स च्याम्पियनसिप र अन्य तीन वटा अनौपचारिक प्रतियोगिताको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन।

बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो।  खेलको ६२ मिनेटमा म्यानमारले अग्रता लिएको थियो। उसका लागि नो पो खिनले गोल गर्दै दशरथ रंगशालामा उपस्थित १५  हजार ५ सय बढी घरेलु दर्शकलाई स्तब्ध पारिन्। उनले डिबक्स नजिकबाट बल कुदाएर दोस्रो बार च्याप्दै बललाई जाली चुमाउँदा नेपाल दर्शक शान्त हुन बाध्य भए।

दुई खेल मिनेटपछि म्यानमारले अग्रता दोब्बर पार्‍यो। म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो। नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन्।

त्यसअघि खेलको १० औं मिनेटमा एन्जिलाले यन वादीको प्रहार विफल पारिन्। २४ मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै नेपालको संकट टारिन्। त्यसअघि म्यानमारकी सान्थ्वाले डिबक्स भित्रबाट सशक्त प्रहार गरेकी थिइन्।

खेलको ३५ मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो। रेखा पौडेलको पासमा सावित्रा भण्डारीले हानेको प्रहार म्यानमारको गोलकिपरले फर्काइन्। रिबाउन्डमा रेखा पौडेल पनि सफल हुन सकिनन्। फेरि सो बल डिबक्समा क्लियर हुन नसके पनि नेपाल फिनिसिङमा चुक्यो।

४४ मिनेटमा बिमला बिकको फ्रिकिक म्यानमारकी खेलाडीले पोल नजिकबाट क्लियर गरिन्।

दोस्रो हाफको सुरूआतमा नेपालले म्यानमारलाई दबाब दियो। ५४ मिनेटमा विमला विकको क्रममा डिबक्स भित्रबाट साम्बाले गरेको हेडर दोस्रो पोल नजिकबाट बाहिरिँदा नेपालले फेरि अर्को अवसर गुमायो।

तर ६२ र ६४ मिनेटमा गोल खाएपछि नेपालमाथि दबाब परेको थियो। जसका कारण म्यानमारले खेल नियन्त्रण लिन सफल भयो। खेलको इन्जुरी समयमा नेपालकी नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रिकिक हाने पनि म्यानमारकी गोलकिपरले विफल पारिन्।

लिग चरणमा नेपालले फिफा वरीयतामा ४८ स्थान माथिको म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। सो खेलमा साम्बाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।

नेपालले यो प्रतियोगिता महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको हो। आगामी जुनमा नेपालले छनोट खेल्दैछ। छनोटको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top