काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कानुन सबैलाई बराबर हुनुपर्नेमा जोड दिएर रवि लामिछाने प्रति लक्षित गर्दै उनले अदालत पुग्न ८४ दिन हिरासत बस्नुपरेको तर सत्तापक्षका नेताहरू अदालतमा हाजिर भएर घर जान पाएको उल्लेख गरे । ‘यो पक्षपात र दुरूपयोग हो कि हैन,’ उनले प्रश्न गरे ।
उनले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लगाएर सरकारले ठिक गरेको र प्रधानमन्त्रीदेखि आफूसम्मका सम्पत्ति पनि छानिबन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीका वरपरका मानिसहरूले भ्रष्टाचार गरेको पनि बताए। तर, उनले उक्त भ्रष्टाचारमा संलग्न को हुन् भन्ने खुलाएनन् । बरु, ती भ्रष्टाचार भइरहेकोबारे प्रधानमन्त्री नै बेखबर रहेको चाहिँ उनले भने ।
‘तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड-करोड अफर गरिरहेका छन्,’ लिङ्देनले सम्बोधनको क्रममा भने, ‘तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर । तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन् ।’
उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग कुरा गरेर अध्यादेश ल्याउन सकिने बताएका छन्। सरकारले हालै ६ वटा अध्यादेश ल्याएकोमा राप्रपासहित ६ प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘अहिले तपाईंहरूले अध्यादेश ल्याउनु भएको छ। हामी प्रतिपक्षी दलहरूको तर्फबाट समयमै यो प्रक्रियाको विरोध गरेका छौं। बीचमा कुनै त्यस्तो अत्यावश्क अध्यादेश ल्याउनु पर्यो भने पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग कुरा गरेर यस्तो अप्ठेरो पर्यो, भनेर छलफल गरेर सहमतिमा राम्रो अध्यादेश ल्याएर देशलाई निकास दिन सकिन्थ्यो ।’
उनले अध्यादेशमार्फत् कालोबजारसम्बन्धी ऐनमा संशोधन गर्दा सिमेन्ट र छडमा मूल्यवृद्धि भएको लिङ्देनले बताए ।






