काभ्रेमा चैत दोस्रो सातादेखि विश्व युवा महोत्सव, १० हजार युवा सहभागी हुने !


काभ्रे । काभ्रेको धुलिखेलमा चैत दोस्रो सातादेखि विश्व युवा महोत्सव आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा आगामी १४ चैतदेखि १८ चैतसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवमा विश्वभरिका करिब १० हजार युवा प्रत्यक्ष सहभागी हुने आयोजकले जनाएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको महोत्सवमा विभिन्न २५ वटा विषयमा सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम लगायत ५० भन्दा बढी गतिविधि हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालय परिसरमा हुने महोत्सवमा ३ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका युवा सहभागी हुनेछन् ।

गौतमका अनुसार महोत्सवमा खेलकुद, सांस्कृतिक कार्यक्रम, सेमिनार, दृश्यावलोकन लगायत ५० भन्दा बढी गतिविधि सञ्चालन हुनेछन् ।

दुई सयभन्दा बढी विज्ञ सहभागी हुने कार्यक्रममा २५ भन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत हुने उनले बताए । सरकारको भिजन २०२५, राष्ट्रिय योजना आयोगको १६औं पञ्चवर्षीय योजनाका साथै दिगो विकास लक्ष्यका सूचकहरू पूरा गर्न महोत्सव केन्द्रित हुने गौतमले बताए ।

महोत्सवमा नेपालका ७५३ वटै स्थानीय तहको सहभागिता रहने जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले जानकारी दिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top