काठमाडौँ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । त्रिपाठीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
उनीविरुद्ध उदयपुरका दिलबहादुर राईले अवहेलना निवेदन दर्ता गरेका हुन् । रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौँका जिल्ला न्यायाधीश विरुद्ध त्रिपाठीले असंवेदनशिल टिप्पणी सञ्चार माध्यममा गरेका थिए ।
‘विपक्षी आफैँ अधिवक्त भएको र अदालत र माननीय न्यायाधीशको विषयमा के कस्ता अभिव्यक्ति दिन मिल्छ भन्ने उनलाई थाहा जानकारी नहुने हुँदैन । उहाँले जानी जानी दिएको अदालत तथा माननीय न्यायाधीशको अपमान हुनेगरी दिएको अभिव्यक्ति अक्षम्य अपराधजन्य कार्य भएकाले उहाँलाई झिकाई बयान गराई स्वंयलाई तारिखमा बस्नुपर्ने, वारेस समेत राख्न नपाउने गरी आदेश गरी हदैसम्मको सजाय गरिपाउँ’, निवेदनमा भनिएको छ ।

त्यस्तै बरिष्ठ अधिवक्ता त्रिपाठीले बिना प्रमाण तथा बिना तथ्यका आधारमा माननीय न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाइ मिडियामा बोल्दा ख्याल गर्नुपर्नेमा नगरी कानुन व्यवसायी आचारसंहिता विपरित कार्य गरी अदालतको अवहेलना गरेको उल्लेख छ ।
त्रिपाठीको अभिव्यक्तिबारे न्यायाधीश समाजले पनि बिहीबार एक विज्ञप्ती निकाल्दै खण्डन गरेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाज, नेपालले खेद प्रकट गरेको हो। बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत उनले अभिव्यक्ति दिएको न्यायाधीश समाजको टिप्पणी गरेको थियो।
समाजले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी न्यायाधीशउपर उनले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै समाजका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जारी गर्यो । ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज, नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ।’ भ्रन्दै विज्ञप्ति लेखिएको छ ।

सहकारी ठगीको मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईले धरौटीमा छाड्ने आदेश दिएकोमा वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश राईको आलोचना गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए।
पछि काठमाडौं जिल्ला अदालतबाहिर त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो। न्यायाधीश समाजले बहस गरेकै आधारमा त्रिपाठीमाथि भौतिक आक्रमण गर्नेलाई पनि कानुनी कारबाहीको माग गरेको छ। त्रिपाठीमाथि हातपात गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ।







