रवि लामिछानेलाई थुनाभित्र राखेर बारको खाली ठाउँबाट भाला हानियो : रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई थुनाभित्र राखेर बारको खाली ठाउँ (स्पेस) बाट भाला हान्ने काम भइरहेको बताएको छ। पार्टी कार्यालय चःमतिमा मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले ‘सपोर्टिङ डकुमेन्टबिना साइन गरेको चेक भेटियो’ भनेर प्रचार गरेको पनि बताए।

‘सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबीचबाट भाला हानेजस्तै लागिरहेको छ। भालामा कुन कुन ब्रान्ड हुन्छ, कुन कुन मानिसको अनुहार हुन्छ, तपाईंहरू आफै सम्झनुस्। त्यसरी पाइँदैन नि,’ उनले भने।

उनले नागरिक समाज र बुद्धिजीवीको आग्रहमा सडक आन्दोलन रोकेको पनि बताए। तर अनुसन्धानको प्रक्रियामा रहेको र अदालतबाट निरूपण हुन बाँकी रहेको विषयको प्रचार गरिएको उनको आशय थियो।

‘नागरिक समाज, बुद्धिजीवी, लोकतन्त्रमा विश्वास राख्नेहरूले सडकमा आएर त्यसो नगरिदिनुस् भनेपछि हामी तपाईंहरूले भनेको मान्छौं भनेर हामी चुप लागेका हौं,’ झाले भने। त्यस्तै ‘सपोर्टिङ डकुमेन्ट’ बिनाको चेक सहकारीको किस्ता तिर्न काटिएको भनेर भन्न नसकिने पनि उनले बताए।

‘सहकारीमा जम्मा गर्न काटिएको पनि हुन सक्ने भनेर रास्वपाले तर्क गर्ने ठाउँ बाँकी छ,’ उनले भने। रास्वपामाथि राजनीतिक प्रतिशोध भएको हो भनेर पार्टीले प्रमाणित गरिरहनु नपर्ने पनि उनले बताए।

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराधको कसुरमा कास्की प्रहरीले गत कात्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ गरेको थियो। उनीमाथि पाँच पटक अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा सभापति लामिछानेले सहकारीको ब्याज तिर्न चेक काटेको पाइएको प्रहरीले बताएको छ। रास्वपाले भने अनुसन्धानका क्रममा रहेको विषय ‘अदालत नै मैले चलाएको जस्तो भाष्य बनाउने गरी’ बाहिर ल्याइएको टिप्पणी गरेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top