काठमाडौं । नेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए । अब नेपालले आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।
सन् २०२३ देखि सुरु भएको यू-१९ विश्वकपको यो दोस्रो संस्करण हो । अघिल्लो संस्करण छनोट नभएको नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्वकप हुनेछ ।






