विपक्षीको नाराबाजीकाबीच दाहालले लिए विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संविधानको धारा एक सयको उपधारा (२)बमोजिम सभामा चौथो पटक विश्वासको मत लिएका हुन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा एक मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

उनले भने, ‘संविधानको धारा एक सयको उपधारा (२)बमोजिम सभामा दाहालले आफूप्रति मागेको सभाको विश्वासको मतको प्रस्तावको पक्षमा १ सय ५७ मत परेको र उक्त संख्या प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरेपनि नकार्दै वेल घेराउसहित प्रतिपक्षीले नाराबाजी गरेपनि नाराबाजीकै बिचमा दाहालले विश्वासको मत लिएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top