रवि लामिछाने भन्छन् – ‘सदनमा घोचपेच बढी भयो’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा घोचपेच बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सदनलाई घोचपेच गर्ने ठाउँभन्दा पनि अलि फरक बनाउने प्रस्तावसहित आफूहरु आएको उनले बताएका छन् ।

प्रतिनिधि सभामा बुधबार बोल्दै सभापति लामिछानेले वक्ताहरुलाई ज्ञान बाँड्ने थलो बनाउन चाहेको हो भने आफ्नै दलबाट सुरु गर्न आग्रह गरे ।

उनले भने, ‘सदनलाई घोचपेच र ज्ञान बाँड्ने थलो बनाएको हो भने आफ्नै दलबाट सुरु गर्नुस् न । यदि नयाँ दल हेर्नु भएको हो भने रास्वपा त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो । पुराना दलहरुले आफ्ना दलभित्र एकचोटि हेर्ने हो की ?’

उनी अघि केही सांसदले सहकारीको प्रसंगमा लामिछानेको नाम नलिइ दोषीमाथि छानबिन र कारबाहीको माग गरेका थिए । लामिछानेले त्यसमा असन्तुष्टि राखेका हुन् ।

‘जहाँ अदालतले फैसला गरेका मानिसहरु दलका पदाधिकारी भएर बसेका छन् । विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने भनिएको छ त्यसतर्फ एकचोटि हेर्ने हो की । सरकारी जग्गा हिनामिना गर्ने मान्छेहरु आफ्नै दलका वरपर छन्, पहिला पार्टीगत रुपमा तीनलाई कारबाही गर्ने हो कि, नागरिकता किर्ते गर्नेलाई कारबाहीको दायरामा ल्याउने हो कि, सहकारी ठगहरुलाई कारबाहीमा ल्याउने हो कि,’ उनले भने ।

अपराधीहरु वर्षौदेखि सरकार र राजनीति शक्तिकै वरिपरि रहेको भन्दै उनले कारबाही गर्न केले रोक्यो भन्दै सरकारलाई प्रश्न गरे । आरोप प्रत्यारोपको शृंखला बन्द गरेर नीति निर्माणमा दिन उनले आग्रह गरे ।

सरकारले संसदमा दर्ता नगराएका जरुरी संकल्प र महत्वका प्रस्तावहरु कार्यसूचीमै नचढाउने प्रवृत्ति रहेको भन्दै उनले यस्तो नहोस भन्नेमा जोड दिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top