काठमाडौं । कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् ।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । कोशीमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।
प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ काेइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।






