राजनीति : सत्ताको जाँतोमा पिसिएको दलीय अडान


काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले झण्डासँगै नयाँ गठबन्धन सरकारको नेतृत्व हत्याएपछि राजनीतिक दलहरुको भूमिका, अडान र बोलीचाली पनि फेरिएको छ ।

प्रतिनिधि सभामा यसको दृश्य प्रष्टसँग देख्न सकिन्छ, दलहरु कहाँ थिए, के गर्दै थिए र अहिले के गरिरहेका छन्, के भनिरहेका छन् । कुनै रंगमञ्चमा कलाकारहरु भेष बदलेर नयाँ नयाँ अभिनयमा उत्रिएजस्तै लाग्छ संसदमा दलहरुको बदलिएको भूमिका हेर्दा ।

यसको मुख्य कारण खोज्न निधार खुम्च्याइरहनै पर्दैन, सत्ता नै यसको चुरो कारण हो भन्ने कुरा सहजै पत्ता लाग्छ । पुरानो गठबन्धनमा रहेका दलहरु र उसबेला प्रतिपक्षमा रहेका र अहिले नयाँ गठबन्धनको लगनगाँठोमा कसिएका दलहरुको चालढाल हर्यौं भने मनोरञ्जनका लागि कुनै वातानुकूलित चलचित्र घरभित्र पसिराख्नै पर्दैन ।

सत्ताबाट निमेषभर पनि जमिनमा नटेकी झण्डासँगै नयाँ सत्ताको नेतृत्वमा सरेका प्रधानमन्त्री दाहालको परिवर्तित चालढाल, बोलिचाली र भावभंगिमा नै रोचक लाग्छ । सत्तोसराप गरिरहेका नेतालाई उनी जीवनसाथी जसरी अगाध माया गरिरहेका देखिन्छन् भने घनिष्ठ मित्रता रहेको पुरानो सहयात्रीलाई सौतेनी आमाका सन्तानलाई झैं व्यवहार गरिरहेका पाइन्छन् । यो प्रवृत्ति केवल दाहालमा मात्र लागु हुँदैन, अरु दलहरुका शीर्ष नेतृत्वमा पनि सत्ताले संक्रमण गरेको यो मनोरोग देखिन्छ ।

प्रतिनिधिसभामा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । उनले १५७ सांसदको विश्वासको मत पाएका छन् भने विपक्षमा ११० मत परेको थियो ।

२०७९ को आमनिर्वाचनपछि १० पुसमा पनि दाहाल प्रधानमन्त्री चुनिएका थिए । त्यसयता निरन्तर उनी नेतृत्वको सरकार रहे तापनि तेस्रोपटक गठबन्धन र मन्त्रीहरू फेरिएका छन् र सोही अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए ।

सत्ता पाएपछि सडक परित्याग

सरकारको कार्यशैलीको विरोध गर्दै देशव्यापी विरोध प्रदर्शनमा उत्रिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा आफूले चाहेजस्तो पद पाउनेवित्तिकै सरक्क सडक परित्याग गरेको छ । रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको नेतृत्व पाएपछि रास्वपाले दबाब यात्रा स्थगित गरेको हो । अरुलाई पाठ सिकाउँदै आएको यो दलले किन दबाब यात्रा स्थगित गरेको हो भनेर जनतालाई स्पष्ट जानकारी भने दिएको छैन ।

रास्वपाले २१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाएको मात्रै थिएन, पत्रकार सम्मेलन राखेर सगर्व घोषणा गरेको थियो- ‘हामी ज्ञापनपत्र बुझाउँदैनौ, आयोजनाका समस्या बुझेर समाधानपत्र दिन्छौं ।’ सत्तामा जानपरेकाले दबाब यात्रा स्थगित गरिएको भन्न नमिलेर हुनसक्छ ‘नयाँ  र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको’ भनेर रास्वपाका महामन्त्री मुकुल ढकालले प्रष्टीकरण दिएका छन् ।

२१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक-काठमाडौं यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री ढकाल गरी २१ जनाका लागि फरक-फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।

२१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नुअघि रास्वपाले नारायणगढ-बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो । अनुसन्धानको दायरामा ल्याउनुपर्छ भनेर चर्को विवादमा परेका लामिछाने अहिले फेरि सरकारको महत्वपूर्ण पदमा पुगेपछि आफैं अनुसन्धानको निर्देशन दिन थालेका छन् । विपक्षको स्थानमा सरेको नेपाली कांग्रेसले लामिछानेको राजीनामा मागिरहेको छ, यही कारणले संसदको बैठक पनि प्रभावित हुन थालेको छ ।

हिजो विपक्षमा बसेको एमाले अहिले नयाँ गठबन्धनको मुख्य हिस्सेदार बनिसकेको छ । माओवादी अध्यक्ष दाहाललाई सरकारको नेतृत्वमा निरन्तरता दिँदै एमाले नयाँ गठबन्धनमा प्रवेश गरेको हो ।

हिजो एमाले केही मन्त्रीहरुलाई क्षणभर पनि सत्तामा बसेको देख्न चाहिरहेको थिएन । प्रधानमन्त्री दाहाललाई तारो बनाएर उसले निरन्तर सरकारको आलोचना गरि नै रहेको थियो । पानी बाराबारको स्थितिमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम उच्चारण गरेपछि मुखमा पानी हालेर कुल्ला गर्छु भन्ने अध्यक्ष केपी शर्मा ओली सत्ताकै खातिर तिनै नेपालको निवासमा निहुरिएर छिर्न पुगे ।

सत्ता परिवर्तनको सेरोफेरोमा देखिएका केही रोचक दृश्यहरु हुन् यी । विगतदेखिका राजनीतिक घटनाक्रम केलाउँदै जाने हो भने सबै दलका नेता र दलहरुको असली मुहार ठम्याउनै मुस्किल हुनसक्छ ।

निर्वाचनका समयमा हुने गठबन्धन र सरकार बनाउँदा हुने गठबन्धनले राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने उक्तिलाई अक्षरशः चरितार्थ गरेको देख्न सकिन्छ ।

सँगै बसेको आसनको तातोपन नसेलाउँदै एकले अर्कालाई धोकेबाज देख्ने र भविष्यमा गरेर देखाउन चुनौती दिने प्रवृत्ति पनि हालै भएको सत्ता गठबन्धन परिवर्तनकालमा देखियो । माओवादी केन्द्र र कांग्रेसको नेतृत्वले यो शैली प्रस्तुत गरिसकेका छन् । एमाले र समाजवादीको जस्तो चर्को र घुर्यानस्तरको नभए पनि उनीहरुको दोहोरी राजनीतिमा आउन चाहने नयाँ पुस्ताका लागि अध्ययनको रोचक विषय भने हुने छ ।

सत्ता गठबन्धनमा रहँदा कांग्रेस शीर्ष नेतृत्वले निरन्तर दाहालको पक्षपोषण गरेको थियो । जसका लागि पार्टीभित्रै सभापति शेरबहादुर देउवा आलोचनाको सिकार भएका थिए । सत्ता समीकरणका लागि दलीय गठजोड टुट्न अघिल्लो दिनसम्म पनि माओवादी र कांग्रेसका मन्त्रीहरु गठबन्धन लामो टिक्ने भाषण गरिरहेका थिए ।

सत्ताबाट बाहिरिँदा कांग्रेस ब्युँझिएको हुनुपर्छ । तर, अझ पनि प्रतिपक्षको बेञ्चबाट बलिया मुद्दा उठान गर्न सकेको भने छैन । बहुमत पु¥याएर सत्तामा रहिरहन चाहनु प्रमुख राजनीतिक दलहरुको नियमित अभ्यासजस्तै भइसकेको छ ।

अहिलेको गठबन्धनले न्युनतम साझा कार्ययोजना बनाएको छ । त्यसमा कस्ता योजना छन्, सरकार कसरी अघि बढ्छ भन्ने चाहिँ समयले नै देखाउने छ । केन्द्रमा सत्ता समीकरण परिवर्तनको असर प्रदेशस्तरमा पनि परिसकेको छ । यसले एउटा नियमित संरचना खल्बल्याएको मात्रै छैन, सत्तामोहले दलहरु अस्थिर चित्तका छन् भन्ने प्रष्ट पारेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top