काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।
प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो । पछिल्लो समय उनले काठमाडौँ मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।







