आज २ बटा खेल, चारै टोली गत वर्षको अपूर्ण यात्रालाई सुधार्ने मनोविज्ञानमा !


काठमाडौं। कीर्तिपुरको त्रिवि क्रिकेट मैदान यतिबेला प्यारापिट, फ्लड लाइट र रातिको माहोलले झन् ‘लिग–फ्रेनजी’ बनेको छ। सोमबार साबिक विजेता जनकपुर र काठमान्डु गोर्खाजको उद्घाटन खेलसँगै सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मंगलबार डबल–हेडरमार्फत थप रोमाञ्चक हुँदैछ।

मंगलबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदैछन्। गत सिजन एकै टिमलाई दुई पटक हराउँदै कर्णालीले चितवनमाथि मनोवैज्ञानिक पकड जमाएको थियो।

यही पृष्ठभूमिले मंगलबारको भिडन्तलाई ‘बदला’ भर्सेस ‘जितको निरन्तरता’ को रूपमा यी दुई टोली मैदान उत्रिने छन्। चितवनका लागि विदेशी अनुभवी खेलाडी डेविड मलान, रवि भोपारा र सोहेल तनवीरको उपस्थितिले टोली सन्तुलित बनेको छ। कर्णालीले प्रियांक पञ्चालदेखि नजिबुल्लाह जद्रानसम्मको बलियो विदेशी लाइनअप उतार्दै निरन्तरता खोज्नेछ।

दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। दुवैलाई गत वर्ष भोगेको निराशालाई उत्सबमा बदल्ने मौका छ। अघिल्लो सिजन सुपर ओभरमा जित हात पारेको पोखराले विराटनगरमाथि प्रभुत्व कायम राख्ने लक्ष्य बनाएको छ।

विराटनगरका लागि यो खेल ‘सुरुआतमै सन्देश दिने’ अवसर हो। फाफ डु प्लेसिस, मार्टिन गप्टिलजस्ता विश्वस्तरीय खेलाडीले भरिएको विराटनगरको स्क्वाडले प्रतियोगितामा सबैको ध्यान खिचेको छ। पोखरामा भने जिम्मी निसम र जेसन रोयको जोडीले पनि खेललाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

चारै टोली गत वर्षको अपूर्ण यात्रालाई सुधार्ने मनोविज्ञानमा छन्। लिग चरणमै चुक्न नदिन र सिजन–२ लाई नयाँ निरन्तरता दिन मंगलबार दुवै खेल निर्णायक ‘स्टेटमेन्ट म्याच’ बन्ने माहोल छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top