१.२३ प्रतिशतले घट्यो अपराध, एक वर्षमा २३ सय बढी प्रहरीको राजीनामा !


काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्रहरीमा मुद्दा दर्ता हुने दर घटेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२३ प्रतिशतले मुद्दा दर्ताको दर घटेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार भएको पत्रकार सम्मलेनमा प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा मुद्दा दर्ताको दर घटेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभरका प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको संख्या ५९ हजार २०३ थियो । तर आर्थिक वर्ष २०८१/८२ मा भने यो संख्या घटेर ५८ हजार ४७२ मा झरेको उनले बताए ।

पछिल्लो आर्थिक वर्षमा उकालो लागेको अपराधको ग्राफ आर्थिक वर्ष २०८१/८२ मा भने केही घटेको हो ।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा ४६ हजार ९०२ र आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ वटा अपराधका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

एक वर्षमा २३ सय बढी प्रहरीको राजीनामा:

एक वर्षको अवधिमा २३ सय भन्दा बढी प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०८१/८२ मा २३ सय ६९ प्रहरी कर्मचारीले राजीनामा दिएका हुन् । अधिकांशजसोले घरायसी कारण देखाएर राजीनामा दिने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

यही वर्ष क्रिकेटर दीपेन्द्र सिंह ऐरीले पनि राजीनामा दिएका थिए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत (इन्स्पेक्टरभन्दा माथिल्लो तह) १९ जना छन् । जुनियर प्रहरी अधिकृत (असईदेखि वरिष्ठ सईसम्म) ४०१ जनाले राजीनामा दिएका छन् ।

अन्य दर्ता तथा कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म १९ सय ४९ जनाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । प्रहरीमा तल्लो दर्जामा सेवा सुविधा कम हुने गरेको र अवसर कम भएको भन्दै तल्लो दर्जाका प्रहरी कर्मचारीले राजीनामा दिने चलन बढी छ ।

यही अवधिमा ५२३ जना भने अनिवार्य अवकाशमा गएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top