मधेसका पूर्व प्रदेश प्रमुख अहिराज बलात्कार गरेको आरोपमा पक्राउ !


काठमाडौं । मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन्। बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको छ। उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन।

अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका हुन्। घटना २०८१ जेठ ४ गतेको हो।

अहिराजलले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा बलात्कार गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ।

बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्।

पीडितले जाहेरी दर्ता गर्न खोजेपनि प्रहरीले नगरेको आरोप छ। पटकपटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन्।

उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन्। पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो।

कार्यालयले कात्तिक ३० गते परिसरमा पत्राचार गरेको हो। सरकारी वकिलले पत्राचार गरेको केही महिनापछि मात्रै माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top