प्रचण्डको आरोपः सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको छ


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण पेस गर्दै उक्त आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको आरोप पनि लगाए ।

‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ,’ उनले भने । अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको उनले आरोप लगाए ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।

प्रचण्डले भने, ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top