मदनको असार १४ : दाउपेच र नेतृत्व, सक्रिय भण्डारी रणनीतिमा ओली !


काठमाडौं । अन्य वर्षहरुमा भएको भए असार १४ एमाले नेता कार्यकर्ताहरुको लागि मात्र चासो र धपेडीको विषय बन्ने थियो । किनकी यो दिन जननेता मदन भण्डारीको जन्मदिन हो । उनको जन्मदिन पार्टीका नेता कार्यकर्ताहरुले मनाउने गरेपनि अरुको लागि चासो नहुनु स्वभाविक नै थियो, हो ।

तर, यसपटक अवस्था फरक छ । असार १४ मा के होला ? मदन जयन्ती कार्यक्रमको परिणाम के होला ? अहिले एमाले पङितमात्र होइन, राजनीतिप्रति चासो राख्ने हरेक नेपालीको मनमा खुल्दुली जागेको छ ।

दासढुंगा दुर्घटना भएको दिन अर्थात जेठ ३ गतेको स्मृति सभा पार्टीले गर्ने र जन्मजयन्ती मदन भण्डारी फाउण्डेसनले गर्ने परम्परा नै बनिसकेको छ । अघिल्ला वर्षहरूमा स्मृतिसभा र जन्मजयन्ती यसरी नै मनाइँदै आएको हो ।

तर यसपटक मदन जयन्ती नियमित प्रक्रियाका रुपमा मात्र सीमित हुने देखिएको छैन । त्यो राष्ट्रिय राजनीतिको लागि ‘अपेक्षित झड्का’ दिने खालको हुने देखिएको छ । तयारी पनि त्यहीअनुसार भइरहेको देखिन्छ ।

त्यो ‘अपेक्षित झड्का’ हो-भण्डारी पत्नी तथा पूर्व राष्ट्रपति विद्या भण्डारीले आफू एमालेको राजनीतिमा सक्रिय भएको उद्घोष गर्ने ।

त्यसबाहेक भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा लिएका केही सुविधासमेत फिर्ता गरेको घोषणा पनि गर्ने तयारी गरिरहेको बताइएको छ । त्यसको लागि उनले पार्टीकै केही नेताहरु र कानुनविद् तथा सुरक्षाविद्हरुसँग पनि छलफल गरिसकेको बताइएको छ ।

यसपटक राष्ट्रियसभा गृहमा मनाइने ७४औँ मदन जयन्ती समारोहका प्रमुख अतिथि ओली छन् भने भण्डारीलाई विशिष्ट अतिथि बनाइएको छ । फाउन्डेसनको अध्यक्ष भने भण्डारीकी छोरी उषाकिरण हुन् ।

‘समय आएपछि एमालेबाटै सक्रिय राजनीति गर्ने’ घोषणा गरेर देश दौडाहामा खटिएकी भण्डारीले सोही अनुसार देशभर नै आफू निकटका नेताहरू तयार गरि परिचालन गरिसकेकी छन् ।

एमालेमा २०७० मा भएको नवौं महाधिवेशनपछि ७० वर्षे उमेर हद लागू भएको छ । तर विधानमा रहेको ७० वर्षे उमेर हदको प्रावधान अहिले निलम्बित छ । त्यो अनुसार लगातार दोस्रो पटक एमाले अध्यक्ष बनेका केपी शर्मा ओलीको उमेर ७० वर्ष कटिसकेको छ । भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था कायमै राखे ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न पाउँदैनन् । तर उनलाई बाटो खुला गर्न विधान संशोधन गर्न अहिले चलखेल भैरहेको देखिन्छ ।

एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम रहे हालका १८ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा अर्को महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवार नै बन्न पाउँदैनन् ।

यस्तो अवस्थामा विधानको त्यही व्यवस्था लागू गराएर नेतृत्वका लागि अघि सर्ने मनस्थितिमा भण्डारी छन् भने विधान महाधिवेशनबाट पार्टीमा उमेरहद ७० वर्षे उमेर हद हटाएर आफू तेस्रो कार्यकाल अध्यक्ष बन्ने प्रयासमा ओली छन् त्यहीकारण अब भदौमा हुने विधान महाधिवेशनमा यो विषयमा निकै रस्साकस्सी हुने नेताहरू बताउँछन्। उमेर हद राखेर ओलीलाई रोक्ने अनि आगामी महाधिवेशनमा एमालेको नेतृत्व गर्ने योजना बनाइरहेकी भण्डारीका लागि विधान महाधिवेशन महत्त्वपूर्ण छ।

भण्डारीको सक्रिय राजनीतिमा फर्किने र उमेर हद कायम राख्ने बारेमा एमालेभित्र विकसित शक्ति–संघर्षको ‘कास्टिङ’ असार १४ गतेको कार्यक्रममा देखिने भण्डारी पक्षिय एमाले नेताहरु बताउँछन् । अहिले एमालेमा भण्डारी र ओली खेमाबीच तीब्र धुब्रिकरण देखिएको छ । केही अगाडिसम्म पार्टी भित्र निर्विकल्प मानिएका अध्यक्ष ओलीलाई भण्डारीले कडा टक्कर दिइरहेकी छन् । पार्टीका तल्ला कमिटीहरुको अधिवेशन र जनवर्गिय संगठनहरुको महाधिवेशनमा भएका गुटगत प्रतिस्पर्धाले पनि त्यो कुरालाई स्पष्ट पार्छ ।

भण्डारी पक्षिय नेताहरु अहिले ओली पक्षका नेताहरुले अन्य नेता कार्यकर्तालाई भण्डारीसँग भेटघाट नगर्न दबाब दिन थालेको दावी गर्छन् ।

यदि एमालेमा ७० वर्षे उमेर हद लागू भएर ओली सहितका नेताहरु विदा हुने अवस्था सृजना भयो भने त्यसले केवल पार्टी राजनीतिमा भण्डारीको पुनरोदय मात्र हुनेछन्, अन्य पार्टीमा पनि प्रभाव पर्नेछ । कांग्रेस, माओवादी लगायत मधेशवादी दलहरु समेत वृद्ध नेताहरुको कब्जामा रहेको अवस्था छ । एमालेमा लागू हुने उमेर हदले अन्य पार्टीका युवा नेताहरुलाई प्रोत्साहित गर्नेछ र वृद्ध अशक्त नेताहरुलाई अवकाश लिन दवाव बढाउनेछ । त्यहीकारण एमालेमा अहिले चलिरहेको विद्या भण्डारीको प्रसंग वा उमेर हदको विवादले अरु पार्टीमा समेत एक प्रकारले तरंग सृजना गरेको छ ।

 


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top