काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिना (साउन–जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो ।
उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ३ करोड ४८ लाख रुपैयाँ बढीको मेमोरी कार्ड आयात भएको छ । तथ्यांकले साउन २०८१ देखि जेठ २०८२ सम्म ३ करोड ४८ लाख ७ हजार रुपैयाँको २ लाख ४९ हजार ५ सय १० थान मेमोरी कार्ड आयात भएको देखाएको छ ।
उक्त परिमाणमा मेमोरी कार्ड आयात हुँदा ८५ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सोही अवधिमा ११ करोड ६ लाख १६ हजार रुपैयाँ बराबरको २१ लाख १६ हजार ८ सय ३६ थान सिम कार्ड आयात भएका छन् । उक्त परिमाणमा कार्ड आयात हुँदा सरकारले ८५ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
११ महिनामा ८ करोड ५७ लाख ५० हजार रुपैयाँको १० लाख २६ हजार ४ सय ९१ थान स्मार्ट कार्ड आयात भएको विभागको तथ्यांकले देखाएको छ । स्मार्ट कार्ड आयातकर्ताले सरकारलाई २ करोड ९ लाख ३ हजार रुपैयाँ राजस्व तिरेका छन् ।






