ऊर्जामन्त्री खड्काले भने : लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ, घिसिङलाई शून्य अंक दिएको कारण..


काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए ।

‘४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ,’ उनले भने ।

केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै मन्त्री खड्काले लोडसिडङको अन्त्य एकजना व्यक्तिले मात्रै नगरेको बताए ।

उनले भने, ‘उहाँ एक जना (कुलमान घिसिङ) व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौं । उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौं भनेको छ र । उहाँलाई धन्यवादै दिन सकिन्छ । यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ । त्यस्तो होइन है माननीयज्यूहरू । यो भ्रममा नपालौं भन्न चाहेको हुँ ।’

घिसिङलाई शून्य अंक दिएको विषयमा:

मन्त्री खड्काले शून्य अंक दिएको विषयमा पनि प्रष्ट पारे । ‘कार्यसम्पादन मूल्यांकन समयमै नबुझाएका कारण शून्य अंक दिइएको हो,’ उनले भने, ‘हामीले पटक–पटक माग्दा बेवास्ता गरिएको थियो, एकैपटक पुसमा उहाँ आफैंले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई दिनुभयो । यहाँ धेरै शिक्षक साथीहरू हुनहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ, यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ ?’

उनले ‘घिसिङ कानुनभन्दा माथि छन्, कानुन लाग्दैन’ भन्ने हो भने संविधान लेख्नुपर्‍यो भन्दै जवाफ पनि फर्काए । यस्तै उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई काँधमा बोकेर नहिँड्न पनि सुझाव दिए ।

‘एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा गाउँघरतिर भने जस्तै बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन् । त्यस्तो नहोस्,’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले कुलमानको विषयमा जति खोतल्यो उति नै भ्वाङ पर्ने पनि बताए । ‘सबैले राम्रो काम गर्नुभएको छ भन्नुभयो होला भनेर म पनि उहाँसँग खुसी नै थिएँ, उत्साहित नै थिएँ । तर, जति खोतल्यो उति भ्वाङ पर्छ,’ उनले भने ।

मन्त्री खड्काले राम्रो कामका लागि पुरस्कृत गर्न पनि आफू तयार भएको बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top