काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा प्रश्न गर्ने दुई पत्रकारको पास निलम्बन भएको छ । गत फागुन ४ गते ‘ओली सरकार भ्रष्टाचारीलाई जोगाउन लागेको भन्ने आरोप छ नि प्रधानमन्त्रीज्यू । जबाफ दिनुहोस् न !’ भनेर सोध्ने ‘युवा मन नेपाल’ च्यानलका पत्रकार किशोरकुमार श्रेष्ठ र ‘सरकार हिटलर प्रवृत्तिमा जाँदै हो ?’ भनेर प्रश्न सोधेका सुनौलो नेपालु युट्युब च्यानलका पत्रकार प्रकाश ओलीको पास निलम्बन भएको हो।
संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले पास उपलब्ध गराउने गर्छ । तर प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको सचिवालयले बताएको छ । पत्रकार प्रकाश ओली र किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाइएको छ ।
ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ ।
पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको तर्क छ ।
ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ ।
पत्रकार महासंघको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्ने दुई जना पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद प्रवेश पास संसद सचिवालयले निलम्बन गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकारको संसद् प्रवेश पास निलम्बनबारे संसदमा विरोध
सांसदहरुले पत्रकारको संसद प्रवेश पास निलम्बन गरेकोमा संसदमा विरोध भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल र हरि ढकालले पत्रकारको पास निलम्बन गर्ने निर्णय फिर्ता लिन आवाज उठाएका छन् ।
शिशिर खनालले चर्को विरोध गर्दै ओली सरकार तानाशाह भएको आफूले पनि महसुस गरेको जिकर गरे र प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा नै दिए । यता ढकालले भने, ‘संसद सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल र सरकारको दबाब र प्रभावमा रहेर जुसरी पास खोसिएको छ । आजै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’

घटनाक्रम के हो ?
गत फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकबाट बाहिरिँदा युट्युबर/पत्रकारबाट अनपेक्षित प्रश्नको सामना गरे । संसद भवनको गेटैमा उभिएका विभिन्न युट्युबर/पत्रकारले सिँढी झरिरहेका प्रधानमन्त्रीलाई प्रश्नमाथि प्रश्नको झटारा फ्याँके।
‘सामाजिक सञ्जाल विधेयक ल्याएर तानाशाही प्रवृत्तिमा जाँदै हो सरकाररु,’ एक पत्रकारले सोधे, ‘सामाजिक सञ्जाल नियमन छाडेर नियन्त्रणमा जाँदै हो सरकार ?’
संसदमा आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम थियो । केही सांसदलाई जबाफ दिएर त केही सांसदका सांसदका प्रश्नको जबाफ टारेर ओली बाहिरिँदै थिए । तर प्रधानमन्त्रीलाई पत्रकारले प्रश्नमाथि प्रश्न गर्न थाले ।
‘प्रश्नबाट भाग्नुभयो भन्ने कुरा आएको छ नि,’ युट्युबर/पत्रकारले सोधे।
सिँढीबाट उत्रँदै गरेका ओलीले भने, ‘प्रश्न यहाँ गर्ने होइन, त्यहीँ भित्रै गर्ने हो।’
अर्का युट्युबर/पत्रकारले त्यसमै थपे, ‘ओली सरकार भ्रष्टाचारीलाई जोगाउन लागेको भन्ने आरोप छ नि प्रधानमन्त्रीज्यू। जबाफ दिनुहोस् न।’
हिँड्दै गरेका प्रधानमन्त्रीले रोकिएर प्रतिप्रश्न गरे – आरोप सुन्दा राम्रो लाग्यो होइन ?
युट्युबर/पत्रकारले जबाफ दिए – ‘त्यस्तै देखिन्छ त बाँसबारी छालाजुत्तादेखि लिएर..’
प्रधानमन्त्रीले फेरि सोधे – त्यस्तै देखियो ?
युट्युबर/पत्रकार बोले – ‘त्यस्तै देखियो।’
त्यसपछि भने प्रधानमन्त्री रोकिएनन् । बरू गाडी चढ्नेतर्फ लागे ।
‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू ?’, युट्युबर/पत्रकारले सोधे, ‘जबाफ त दिएर जानुहोस् ।’ प्रश्न अझै रोकिएन।
अर्का युट्युबर/पत्रकारले सोधे; ‘हिटलर प्रवृत्तिमा जाँदै हो, सरकार ?’
यसरी युट्युबर/पत्रकारबाट तानाशाह र हिटलरको आरोप लगाएपछि प्रधानमन्त्रीले संसद भवनमा प्रवेश गर्ने युट्यबुर र पत्रकारहरूबारे चासो देखाएका हुन्।
संसदमै एमाले सांसदले उठाएका थिए अवाज :
सत्तारूढ नेकपा ‘एमाले’ का सांसद सूर्य थापाले फागुन ५ गतेको बैठकमा पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा प्रयोग गरेका शब्दबारे संसदको ध्यानाकर्षण गराएका थिए। ‘प्रधानमन्त्री प्रश्नोत्तरबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो। संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ?,’ थापाले संसदमा बोल्दै भनेका थिए।
‘सांसदलाई सोधिने प्रश्नमा गालीगलौज तथा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाँइदैन,’ थापाले सोधे, ‘संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?’
त्यसपछि संघीय संसद सचिवालयले प्रधानमन्त्रीलाई त्यसरी प्रश्न सोध्ने ट्युबर/पत्रकार को हो भनेर खोजेको थियो । सचिवालयले तानाशाह भन्ने युवा मन नेपालका श्रेष्ठ र हिटलर भन्ने सुनौलो नेपालका प्रकाश ओली रहेको पत्ता लगाएर उनीहरूलाई एक महिना संसद प्रवेशमा रोक लगाएको हो ।
श्रेष्ठ मोरङ उर्लाबारी वडा नम्बर ६ मा का श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडा सदस्यको उम्मेदवार थिए । श्रेष्ठले उर्लाबारी वडा नं ६ को वडा सदस्य पदमा ६ सय ३३ मत ल्याएका थिए। निर्वाचन भने १ हजार ९ मत ल्याएर कांग्रेसका बमबहादुर श्रेष्ठले जितेका थिए ।
प्रकाश ओली पनि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य रहेको खुलेको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।






