प्रधानमन्त्री ओली शुक्रवार रुपन्देही बुटवल जाने, के छ कार्यक्रम ?


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार बुटवल आउने भएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले पाल्पा र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । त्यहाँबाट हेलिकप्टरमार्फत बिहान १२:१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने र त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साथै, सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित १,१२६ मिटर लामो सुरूङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउने छन् ।

सुरूङमार्ग पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ। आयोजनाको मुख्य सुरूङ ब्रेकथ्रु प्रधानमन्त्रीको उपस्थितिमा हुनेछ ।

सुरूङ मार्ग बनेपछि बुटवलदेखि लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले सुरूङमार्ग ब्रेकथ्रु उत्सवपछि बुटवल-गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् । दिउँसो २ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित कार्यक्रममार्फत यो खण्डको शिलान्यास गर्नेछन् ।

सडक विभागले बुटवल-गोरुसिंगे खण्डको ५० किलोमिटर सडकलाई दुई चरणमा स्तरोन्नति गर्ने योजना अघि बढाएको छ । यसमध्ये पहिलो चरणमा २५ किलोमिटर खण्डको शिलान्यास प्रधानमन्त्री ओलीले गर्नेछन् ।

निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले लिएका छन् ।

सडक स्तरोन्नतिको क्रममा यातायात अवरोध नहुने गरी काम अघि बढाइने आयोजना प्रमुख कुशलता न्यौपानेले बताइन् । निर्माण कम्पनीले आवश्यक उपकरण, ल्याब, क्रसर, र कंक्रिट बनाउने स्थान निर्माण गरिसकेको छ ।

जंगल क्षेत्रको सडक खण्ड २४ मिटर चौडाइको चार लेनको हुनेछ भने बजार तथा बस्ती क्षेत्रमा सर्भिस लेनसहित ६ लेनको सडक निर्माण गरिनेछ । सहरी क्षेत्रमा सडकको चौडाइ ५० मिटर रहनेछ । ठूला चोकमा अन्डर पास र ओभर पासको सुविधा उपलब्ध गराइने योजना रहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top