काठमाडौं । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ ।
कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको हो । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रहेको छ ।
अहिले सरकारी वकिलको कार्यालय र सहकारी पीडितका तर्फबाट बहस भइरहेको छ । त्यसपछि बल्ल लामिछानेको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।
लामिछानेले हिरासतभित्र बसेर मुद्दा लड्ने वा बाहिर बसेर लड्ने भन्ने विषयमा थुनछेक बहस सुरू भएको हो । बिहीबार पीडितका पक्षबाट बहस सकिए शुक्रबार प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन् । शुक्रबारसम्म जबाफी बहस सकियो भने सोही दिन लामिछाने आदेश आउने छ । यदि सकिएन भने बहस लम्बिन सक्छ ।
मुद्दामा नेपाल सरकारको तर्फबाट ५ वकिलहरुको नाम सतहमा आएको छ भने, सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । त्रिपाठी र भण्डारीले लामिछानेलाई हिरासतमा पठाउनुपर्नेमा अडान लिदै आएका छन् ।
उनीहरूको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ। अर्थता रविका पक्षका पनि ७ अधिवक्ताका नाम सतहमा छन् ।
र यसै बीच इजलासमा पीडितले पनि बोल्न पाउनुपर्ने माग आफूहरूले गरेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालको पनि माग छ । यसो भएमा बहस झन् लम्बिन सक्छ ।
पक्ष-विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । लामिछानेसहित २२ जनाविरुद्ध माघ ६ गते पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।
सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।






