काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो ।
सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।
कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने ।
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।






