काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कार्यालय अगाडि चार्जिङ बुल (साँढे) को प्रतिमा राखेको छ । साँढेको प्रतिमा भद्रकाली प्लाजास्थित नेप्सेको भवन परिसरमा स्थापित गरिएको हो ।
नेप्सेका अनुसार यो पूर्वाधार निर्माण परियोजनाअन्तर्गत साँढेको प्रतिमा बनाउन शुरु गरिएको थियो । परियोजनाको कुल लागत १ करोड ४८ लाख रुपैयाँ छ । केहि समयअघि मात्र नेप्सेले आफ्नो प्राङ्गणमा साँढेको प्रतिमा स्थापना गर्नको लागि टेण्डर आह्रन सहित काम सुरु गरेको थियो ।
नेप्सेले तयार पारेको ढाचाँ अनुसार कालिगढले साँढेको प्रतिमा बनाएका छन् । उक्त मूर्ति पितलको छ । चार्जिङ बुल ६ फुट अग्लो र ७ फुट लम्बाईको हुनेछ। प्रतिमाको तौल १ हजार २०० देखि १ हजार ३०० किलोग्रामको हुने अनुमान छ।
दशैंअघिसम्म प्रतिमा स्थापना र उद्घाटन गर्ने योजना रहे पनि काम अहिले सम्पन्न भएको हो ।अधिकांश अन्तरराष्ट्रिय स्टक एक्सचेन्जहरुको परिसर वा अगाडि पूँजीबजारको प्रतिबिम्बका रुपमा साँढेको प्रतिमा राख्ने गरिन्छ।
कसैले यसलाई मार्केट बुलको संकेत भएको बताएका छन् भने कसैले छेउमा साँढेभन्दा अलिक ठूलो भालु (वियर) पनि राख्न भन्दै व्यंग्य गरेका छन् । विश्व वित्तीय बजारमा बुल र बियर सर्वाधिक प्रयोग हुने शब्द हुन्। यी शब्दको प्रयोग शेयर बजारमा मात्र नभएर क्रिप्टोकरेन्सी, फोरेक्स मार्केट, बोन्डलगायत अन्य थुप्रै वित्तीय बजारहरूमा प्रयोग हुने गरेका छन् ।
सामान्य भाषामा चाहिं धितोपत्र बजारमा बुल भन्नाले बढ्दो बजार साथै बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ।भालु र साँढेलाई बजारमा विम्बका रूपमा प्रयोग गरिन्छ ।
साँढे र भालु बीच लडाइ हुँदा साँढेले आफ्नो सिङले हान्दै अगाडि बढ्ने र भालुले आफू जोगिंदै पछि हट्ने गर्छ। त्यसैले बढ्दो बजारलाई साँढे अर्थात् ‘बुल मार्केट’ र घट्दो बजारलाई भालु अथवा ‘बियर मार्केट’ भनेर भन्ने गरिन्छ ।
लगानीकर्ताले पनि भालु र साँढेले गरेको जस्तै बियरिस बजारमा राम्रो कम्पनीहरूमा सुरक्षित लगानी गर्छन्। अनि बुल अर्थात् बढ्दो बजारमा पनि जोखिमपूर्ण लगानी गर्छन् ।









