सामाजिक सञ्जालमा सांसद खुस्बु ओलीको चरित्रहत्या गर्ने २ जना चितवनबाट पक्राउ !


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं सांसद खुस्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार चितवनबाट दुई जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।

​सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्ने, निरन्तर गालीगलौज गर्ने, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति (हेट स्पिच) फैलाउने कार्य भइरहेको भन्दै शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। उजुरी दिएलगत्तै उनले आरोपीहरूको तस्बिर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

आफूलाई रास्वपा समर्थक दाबी गर्ने एंव देखाउने यी पात्रहरुको सामाजिक संजालमा रास्वपाको आलोचना गर्नेहरु प्रति सुन्नै नसक्ने र कुनै पनि सभ्य समाजले पचाउनै नसक्ने अभिव्यक्तिहरु पर्याप्त देखिन्छन् । उजुरी पछि केहीले खुस्बु लक्षित समाग्री हटाएका छन् भने केहीले थप प्रतिक्रिया दिएका छन् । विदेशमा बस्ने नेपालीहरुबाट यस्ता गतिविधि बढ्दो रहेको देखिन्छ ।

निरन्तर र नियोजित ढंगबाट आएका यस्ता भिडियोहरुमा शब्दहरुले सबै सिमा तोडेपछि साइबर अट्याकको पीडित बनेकी सांसद खुस्बुले उजुरी दिएकी थिइन् ।

​सोही उजुरीका आधारमा ब्युरोले प्राविधिक अनुसन्धान गरी उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य आरोपीहरूको खोजी कार्य भइरहेको साइबर ब्युरोले उल्लेख गरेको छ ।

यसअघि पनि सांसद ओलीले दिएको यस्तै प्रकृतिको उजुरीका आधारमा ब्युरोले एक जनालाई पक्राउ गरिसकेकाे छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top