नेपाली कांग्रेसको गगन-विश्व समूहलाई निर्वाचन आयोगको मान्यता, देउवा पक्षले निर्णय नमान्ने


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : पूर्णबहादुर खड्का

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् ।
उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’

उनले निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि जनाए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top