मध्यरातमा रवि र बालेनको महत्वपूर्ण भेटघाट, बालेनलाई नै प्रधानमन्त्रीको उम्मेदवार !


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । नख्खु कारागारबाट निस्किएलगत्तै उनले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका हुन् ।

गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका थिए ।

शनिबार दिउँसो काठमाडौं आएलगत्तै जेनजी घाइते र शहीद परिवारसँग भेटवार्ता गरे । भोलिपल्ट (आइतबार) पार्टी कार्यालयमा स्वागत, बैठकपछि उनले देखिनेगरी प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी टोलीसँग छलफल गरे ।

यसबीचमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग दुईपटक भेटवार्ता गरिसकेका छन् । निकटस्थ स्रोतका अनुसार, बालेन र रविबीच आइतबार एक चरणको छलफल भएको थियो ।

छलफलमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी छन् । रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए ।

छलफलका क्रममा बालेन निकटस्थहरूले दर्ता गराएको ‘देश विकास पार्टी’ र रास्वपाबीच कसरी सहकार्य गरेर अघि बढ्ने भन्नेबारे छलफल भएको एक सहभागीले बताए ।

‘आइतबार र गतरात (सोमबार) दुवै दिनको छलफल सकारात्मक नै मानिएको छ,’ स्रोतले भन्यो, ‘कसरी सहकार्य गर्ने र के के विषयमा हुने भन्ने छलफलकै चरणमा छ ।’ यद्यपि कुनै निष्कर्ष भने नआइसकेको उक्त स्रोत बताउँछ ।

अबको निर्वाचनमा बालेनलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउनेगरी उनी पक्षबाट सहकार्यको प्रस्ताव भएको निकट स्रोतको भनाइ छ ।

उनीहरू हिजो र आज दुई दिन नै कमलपोखरीस्थित असिम शाहकै घरमा छलफलमा बसेका थिए । रास्वपाका एक पदाधिकारीका अनुसार, विभिन्न दल र समूहसँग सहकार्यको प्रस्ताव भइरहेको छ ।

‘विभिन्न दल र समूह गरेर १० वटासँग कुराकानी भइरहेको छ । त्यसमा हामी आक्रामक रुपमा नै जाने भन्ने कुरा भएको छ,’ ती पदाधिकारीले भने, ‘एक दुई दिनमै केही नयाँ आउँछ ।’

सभापति लामिछाने कारागारमा भएकाले यसअघि भएका केही तयारी पनि होल्ड गरिएको र उक्त विषयलाई मूर्त रुप दिनका लागि सभापतिले राजनीतिक भेटवार्ता बढाएको ती नेता बताउँछन् ।

‘सशर्त चुनावमा दुईवटा सिट आउँछ कि भन्नेसँग हाम्रो एकता हुँदैन,’ ती नेताले सुनाए, ‘राम्रा र केही गरौं भन्नेहरू एक हुनुको विकल्प पनि छैन ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top